
१७ माघ, सुर्खेत-
सुर्खेतको सिम्ता गाउँपालिकामा आजदेखि एकीकृत जनरल स्वास्थ्य सेवा तथा मोतिविन्दु शल्यक्रिया शिविर सुरु भएको छ। शिविर सिम्ता बहुमुखी क्याम्पस परिसरमा शिविर सञ्चालन भइरहेको छ। शिविरलाई प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सुर्खेतले उपलब्ध गराएको छ। यसअघि माघ १० गतेदेखि १५ गतेसम्म गाउँपालिकाका सम्पूर्ण वडा कार्यालयहरूमा मोतिविन्दु पहिचानका लागि स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको थियो।

गाउँपालिकाका अनुसार वडास्तरमा सञ्चालन गरिएको स्क्रिनिङ कार्यक्रममा ५२७ पुरुष र ६८६ महिला गरी जम्मा १,२१३ जनाको आँखा जाँच (स्क्रिनिङ) गरिएको थियो। तीमध्ये ७५ पुरुष र ८२ महिला गरी कुल १५७ जना मोतिविन्दु शल्यक्रियाका लागि सिफारिस भएका थिए। सिम्ता गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र पुनका अनुसार सिफारिस भएका बिरामीमध्ये आज पहिलो दिन ६२ जनाको सफलतापूर्वक मोतिविन्दु शल्यक्रिया सम्पन्न गरिएको छ।

वडास्तरमा भएको स्क्रिनिङ कार्यक्रममा छुटेका सेवाग्राहीहरूले पनि माघ १८ गते शिविर स्थलमै सेवा लिन सक्ने जानकारी गाउँपालिकाले दिएको छ। यो शिविरले ग्रामीण भेगका नागरिकलाई सहज र निःशुल्क आँखाको उपचार सेवा उपलब्ध गराउँदै दृष्टि समस्याबाट पीडित बिरामीहरूलाई ठूलो राहत पुर्याउने अपेक्षा गरिएको छ।
































