१७ माघ, सुर्खेत-
वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय रनिङ शिल्ड छनौट प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिता श्री शिव माध्यमिक विद्यालय धुलियाविट, वीरेन्द्रनगर–११ सुर्खेतमा आजदेखि सुरु भएको हो। शिव माध्यमिक विद्यालय धुलियाविट वीरेन्द्रनगर ११ सह–आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकाल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिवारीले गर्नुभएको थियो।

यस प्रतियोगितामा विद्यार्थीहरूको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले विभिन्न विधाका खेलहरू समावेश गरिएका छन्। प्रतियोगितामा कबड्डी (छात्र/छात्रा) ,भलिबल (छात्र/छात्रा),एथलेटिक्सका विविध इभेन्ट (छात्र/छात्रा), मार्सल आर्ट अन्तर्गत कराते, तेक्वान्दो र उसु खेलहरू संचालन हुनेछन। प्रतियोगितामा जम्मा ४५ विद्यालय सहभागी रहेका छन्, जसमध्ये २४ सामुदायिक र २१ संस्थागत विद्यालय छन्।

आज सम्पन्न छनौट चरणका खेलहरू उत्साहजनक प्रतिस्पर्धाका साथ सम्पन्न भएका छन्। विभिन्न विधामा प्रारम्भिक चरणका खेल भए पनि अहिलेसम्म कुनै पनि विधाको फाइनल खेल सम्पन्न नभएको विद्यालयका प्रधानाध्यापक पूर्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। आगामी दिनहरूमा थप रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको बताइएको छ। नगरपालिका स्तरीय यस प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना विकास गर्नुका साथै अनुशासन, नेतृत्व क्षमता र स्वास्थ्यप्रति सचेतना बढाउने विश्वास लिइएको छ। विद्यालय प्राङ्गन यतिबेला खेलाडी, शिक्षक र दर्शकको उल्लेख्य उपस्थितिले खेलमय बनेको छ।
































