१६ माघ, काठमाडौं-
आज देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ। देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना हुने गरेको छ ।

आज सरकारले शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको थियो । यद्यपि २०८१ सालदेखि भने शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले २०८० सालमै गरिसकेको थियो । वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो । यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको थियो ।
भदौ २३ गते जेनजी शहीद दिवस
वर्तमान अन्तरिम चुनावी सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवस मनाउने निर्णय गरेको छ । मुलुकमा व्याप्त भ्रष्टाचार र अव्यवस्था विरुद्ध गत नवयुवा पुस्ताले भदौ २३ गतेदेखि स्वतस्फूर्त सुरु गरेको प्रदर्शनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । २ दिनसम्म चलेको आन्दोलनको क्रममा ७६ जनाको ज्यान गएको थियो । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको चुनावी सरकारको मंसिर १५ गते बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गतेलाई जेनजी शहीद दिवस मनाउने निर्णय गरेको हो ।

































