कालिकोट र दैलेख सीमा जोडिएको दैलेखको पानीपोखरी प्रहरी चौकीको ३१ वर्षपछि आफ्नै प्रहरी भवन स्थापना भएको छ। जोखिमपूर्ण घरहरूबाट सेवा दिईरहेको प्रहरी चौकीले ३१ वर्षपछि आफ्नै सुविधा सम्पन्न प्रहरी भवनबाट सेवा दिने भएको हो। २०४९ पुस १७ दरबन्दी स्वीकृति भई फागुनमा दैलेखको भैरवी गाउँपालिका ६ स्थित पानीपोखरी प्रहरी स्थापना भएको थियो। स्थापनायता प्रहरीहरू कच्ची घरहरूमा निकै सास्ती झेलेर सेवा दिनुपरेको थियो।केही वर्षअघि मात्र पक्की घर बनेपछि भाडामा राखिएको चौकी अहिले आफ्नै घरबाट सेवा दिएको छ।
एक कार्यक्रम बीच कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालले नयाँ सुविधा सम्पन्न भवनको उद्घाटन गर्नु भएको छ। नयाँ प्रहरी चौकी पानीपोखरीको भवनमा कार्यालयसहित प्रमुखको निवास, ब्यारेक, भान्सा घर र शौचालय भवन रहेको छ। ठेक्का मार्फत १ करोड ७७ लाख ८७ हजार ४ सय ३७ रुपैयाँ २५ पैसामा भवन निर्माणमा लागत लागेको प्रहरीले जनाएको छ। उद्घाटन कार्यक्रमको गाउँपालिकाका अध्यक्ष रिता कुमारी शाहीले अध्यक्षतामा भएको थियो । प्रहरीको आफ्नै भवनमा प्रहरी बसेसँगै दैनिकी कामहरू गर्न निकै सहज हुने दैलेखका प्रहरी प्रमुख (डिएसपी) किशोर लम्सालले बताउनु भयो।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालले आगामी दिनहरूमा यस क्षेत्रको सुरक्षा व्यवस्था थप प्रभावकारी हुनुको साथै गुणस्तरीय नागरिक सेवा प्रवाह हुने र प्रहरी कर्मचारीको कार्यसम्पादन स्तरमा थप मनोबल अभिवृद्धि हुने विश्वास व्यक्त गर्नु भयो।
































