सल्यान, ४ मंसिर
सल्यान छत्रेश्वरी, २ को दहखोला स्थित चमेरे गुफा क्षेत्रमा सार्वजनिक सौचालय निर्माण कार्य सुरु भएको छ । पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै जानथालेपछि रुपान्तरण युवा क्लवले सौचालयको आवश्यकता महसुस गरी निर्माण कार्य सुरु गरेको हो । जस्ता पाताको छाना लगाएर प्रयोग गर्न मिल्ने सौचालय निर्माण कार्य सुरु भएको जनाउँदै क्लवका अध्यक्ष विशाल पुन मगरले करिव ८० हजार रुपैयाँमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनु भयो ।
उहाँका अनुसार क्लवले सार्वजनिक शौचालय निर्माणका लागि आफ्नो कोषमा रहेको २० हजार रुपैयाँ लगानी गर्नेछ । अन्य रकम संकलनको लागि जुटेको क्लवलाई शौचालय निर्माणको लागि गैर आवासीय नेपाली संघ, रास्ट्रीय समन्वय परिषद् माल्टाका सल्लाहकार हरी विसीबाट २५ हजार रुपैयाँ सहयोग घोषणा भएको क्लवका अध्यक्ष पुनमगरले जानकारी दिनु भयो । यहि मंसिर महिना भित्र शौचालय निर्माण सक्ने गरी आफुहरु लागि परेको उहाँको भनाई छ । शौचालय शिलान्याश गर्दै छत्रेश्वरी २ का वडा अध्यक्ष प्रेम नेपालीले सामाजिक काममा क्लव र युवाहरुको सक्रियता महत्वपूर्ण रहेको भन्दै शौचालय निर्माणका लागि आफुले पनि सक्दो सहयोगको प्रतिवद्धता जनाउनु भयो। २०७८ सालमा स्थापना भएको रुपान्तरण युवा क्लवले विभिन्न सामाजिक काममा सक्रिया देखाउँदै आएको छ ।
































