४ मंसिर , काठमाण्डाै
फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि मङ्गलवार यमनसँग खेल्दैछ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा हुने खेल भोलि बेलुकी ७ बजेपछि शुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनसँगकाे खेलमा नेपालले जित निकाल्ने बताए । उनले यसअघि यूएईसँगकाे खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनसँगकाे खेलमा नेपालले जित निकाल्ने बताए । गएकाे कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल यूएईसँग ४–० काे गोल अन्तरले पराजित भएको थियो ।
त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले यूएईसँगकाे खेलमा हार बेहाेर्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरे । उनले आफ्नो टोलीका खेलाडीहरू यमनसँग खेल्न मनोवैज्ञानिकरूपमा समेत तयार रहेको प्रतिक्रिया दिए । फिफा वरीयतामा यमन नेपालभन्दा १७ स्थान माथि छ । वरीयतामा नेपाल १७३ औँ स्थानमा छ भने यमन १५६ औँ स्थानमा रहेको छ । नेपाल र यमनबीचकाे खेल हेर्न साधारण प्याराफिटतर्फ चार सय र भीआईपी प्यारापिटतर्फ एक हजार रुपैयाँ तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । रासस
































