मंसिर २ बैतडी
बैतडीको दोगडाकेदारमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेको खोचलेक प्रहरीचौकीका इञ्चार्ज नवलसिंह भाटले जानकारी दिनुभयो । विष्टको घटनास्थलमै ज्यान गएको थियो । यस्तै कालागाउँकै ३० वर्षीया कलावती विष्ट, ४५ वर्षीया हिरा विष्ट, चार वर्षीय रियाग विष्ट, सात वर्षीया सुशीला विष्ट र ६० वर्षीय पद्म विष्ट घाइते भएका छन् ।
घाइतेमध्ये कलावती र हिराको अवस्था गम्भीर रहेको बैतडी प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । कालागाउँबाट सिल्लेगडातर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जीप आज दोगडाकेदार–३ घोडेधार नजिकै दुर्घटनामा परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
































