मङ्सिर १ , कोहलपुर
बाँकेको कोहलपुर नगरपालिका १२ का २९ वर्षीय युवकलाई धारिलो हतियार प्रहार गरि फरार रहेका आकाश रानालाई नियन्त्रणमा लिन बाँके प्रहरीले गोली चलाएको छ । बाँकेको जानकी गाउँपालिका ४ मा शुक्रबार बिहान तीन राउण्ड गोली प्रहार गरेर प्रहरीले बैजनाथ गाउँपालिका घर भई कोहलपुर– ११ बस्ने आकाशजंग रानालाई नियन्त्रणमा लिएको हो ।
पेस्तोलबाट तीन राउण्ड गोली प्रहार गरिएपनि एउटा गोली रानाको खुट्टामा लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिनुभयो । डिएसपी डाँगीका अनुसार पक्राउ परेका रानासहितको समूहले बिहीबार बिहान २/३ बजेको समयमा कोहलपुर १२ चप्परगौडीका २९ वर्षीय मीन बहादुर विक माथि खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएर भागेको थियो । खजुराखुर्द क्षेत्रमा लुकेर बसेको सूचना पाएको प्रहरी उनीलाई नियन्त्रणमा लिन पुगेको थियो । नियन्त्रणमा लिने क्रममा प्रहरीलाई आक्रमण गरेर भागेपछि गोली प्रहार गरेर एक किलोमिटर टाढाबाट नियन्त्रणमा लिइएको हो’ डिएसपी डाँगीले जानकारी दिनु भयो।
गम्भीर घाइते विकको यहाँ उपचार सम्भव नभएपछि बिहीबार नै भारतको लखनउ लगिएको छ । बाँकेमा तिहारको समयमा गुण्डागर्दीका घटनाहरू धेरै भएपछि प्रहरीले गुण्डागर्दी विरुद्व अभियान समेत थालिसकेको छ । सोही क्रममा रानालाई समेत गोली नै प्रहार गरेर नियन्त्रणमा लिइएको बाँके प्रहरीले स्रोतले जनाएको छ ।
































