कार्तिक २६ , नवलपरासी
दुर्घटनामा गम्भीर घाइते भएका मध्यबिन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा ज्यान गएपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या सात पुगेकाे छ । गम्भीर घाइते अर्यालको उपचारका क्रममा चितवनमा रहेकाे पुरानो मेडिकल कलेजमा ज्यान गएकाे नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
बौदिकाली गाउँपालिकाबाट दलदलेका लागि छुटेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ को गोरेघुम्तीमा दुर्घटना भएकाे हाे । दुर्घटनामा तीन जना महिला र तीन जना पुरुष गरि ६ जनाको घटनास्थलमै ज्यान गएकाे हाे । घटनास्थलमै ज्यान गुमाएका ६ जनामध्ये पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो।
दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, त्यही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन् । मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन । जीप अनियन्त्रित भइ सडक छेउको घरमा ठोक्किएको थियो ।
































