३१ जेठ, सल्यान-
सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ६ मा आयोजित नागरिक संवाद कार्यक्रम विभिन्न रचनात्मक तथा विकासमुखी गतिविधिसहित सम्पन्न भएको छ। कार्यक्रममा वडा अन्तर्गत रहेको मावि काफलगैरीबाट यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। सम्मानित विद्यार्थीहरूको मेहनत, लगनशीलता र शैक्षिक उपलब्धिको कदर गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो। कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूलाई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गरेका थिए।

त्यसैगरी, वडा नम्बर ६ का जनप्रतिनिधिहरूद्वारा गाउँपालिकालाई मायाको चिनो प्रदान गरिएको थियो। उक्त अवसरमा वडामा हालसम्म सम्पन्न भएका विकास निर्माणका कार्यहरूको समीक्षा गर्दै आगामी गाउँसभा तथा सभामा समावेश गर्नुपर्ने योजना तथा कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो। स्थानीय नागरिक, जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा वडाको विकास, सेवा प्रवाह तथा आगामी प्राथमिकताका विषयमा सुझावहरू संकलन गरिएको थियो। सहभागीहरूले स्थानीय आवश्यकता र जनचाहनाअनुसार योजना तर्जुमा गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा संकलित सुझाव तथा छलफलबाट प्राप्त निष्कर्षहरूले आगामी विकास योजनाहरूलाई प्रभावकारी, जनमुखी र आवश्यकतामुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। गाउँपालिकाले यसअघि वडा नं. १ देखि ५ सम्म पनि यस्तै प्रकारका नागरिक संवाद कार्यक्रम सञ्चालन गरिसकेको छ। नागरिकको प्रत्यक्ष सहभागितामार्फत विकास योजना निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाले वडा–वडामा संवाद कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।
































