२३ जेठ, सुर्खेत-
गुर्भाकोट नगरपालिकाको समन्वयमा कर्णाली प्रदेश सरकार अन्तर्गत प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतद्वारा सञ्चालन गरिएको पाइल्स, फिस्टुला तथा मलद्वार सम्बन्धी रोगहरूको निःशुल्क स्क्रिनिङ्ग कार्यक्रममा ११६ जनाले सेवा लिएका छन्। गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना सिटिहलमा आयोजित उक्त कार्यक्रममा विशेषज्ञ स्वास्थ्यकर्मीमार्फत सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। स्क्रिनिङ्गका क्रममा धेरै सेवाग्राहीमा पाइल्स, फिस्टुला तथा मलद्वार सम्बन्धी विभिन्न समस्या देखिएको जनाइएको छ।

कार्यक्रमले यस्ता रोगहरूको समयमै पहिचान, परामर्श तथा आवश्यक उपचार प्रक्रियामा सहज पहुँच पुर्याउन महत्वपूर्ण योगदान गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरप्रति स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको अनुगमन गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुन तथा स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्तीले गर्नुभएको थियो। अनुगमनका क्रममा नगर प्रमुख पुनले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता जनमुखी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। नगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न प्रदेश सरकार तथा सम्बन्धित निकायसँग समन्वय गर्दै विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
































