२३ जेठ, सुर्खेत-
गुर्भाकोट नगरपालिका–६ बडाखोली निवासी ज्येष्ठ नागरिक स्वर्गीय मोतीराम विकको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ।

परिवारको आर्थिक अवस्था कमजोर रहेको अवस्थालाई मध्यनजर गर्दै दुःखको यस कठिन घडीमा केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग सामग्री हस्तान्तरण गरिएको हो। गुर्भाकोट नगरपालिका वडा नं. ६ का वडा सदस्य पुष्कर रेग्मी, बडाखोली युनाइटेड पब्लिक स्कुलका प्रिन्सिपल हेमन्त डी.सी. तथा युवा समाजसेवी पदम बाठाले स्वर्गीय विकको निवासमै पुगेर खाद्यान्न सामग्री हस्तान्तरण गर्नु भएको हो।

सहयोग हस्तान्तरणका क्रममा उहाँहरूले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा समुदायको साथ र सहयोग महत्वपूर्ण हुने बतौअनु भएको थियो। मानवता, सहयोग र सामाजिक उत्तरदायित्वको भावनाले प्रेरित भई गरिएको उक्त कार्यले शोकाकुल परिवारलाई केही राहत तथा आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

स्थानीयस्तरमा सामाजिक सद्भाव र मानवीय सहयोगको उदाहरणका रूपमा रहेको यस कार्यको स्थानीयवासीले समेत प्रशंसा गरेका छन्। सहयोगीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
































