१४ जेठ,सुर्खेत-
शुभाघाट शहरी खानेपानी आयोजनाको वितरण प्रणालीमा आएको समस्याका कारण गुर्भाकोट नगरपालिका अन्तर्गत मेहेलकुना–बोटेचौर क्षेत्र यतिबेला खानेपानी संकटबाट प्रभावित बनेको छ। नियमित रूपमा पानी वितरण हुन नसक्दा स्थानीयवासीको दैनिक जनजीवन कष्टकर बनेको छ भने बजार क्षेत्रको व्यवसायिक गतिविधिमा समेत प्रत्यक्ष असर परेको छ । धारामा पानी आउन बन्द भएपछि स्थानीयहरू पिउने पानीदेखि दैनिक घरायसी प्रयोजनका लागि समेत समस्या भोग्न बाध्य भएका छन् । विशेष गरी बजार क्षेत्रका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरू सबैभन्दा बढी प्रभावित बनेका छन् ।

मेहेलकुनाका केही रेष्टुरेन्ट व्यवसायीहरूले पानी अभावकै कारण लगातार दुई दिनसम्म व्यवसाय बन्द गर्नुपरेको बताएका छन्। “पानी बिना व्यवसाय सञ्चालन गर्न सकिने अवस्था छैन,” एक व्यवसायीले गुनासो गर्दै भने, “ग्राहकलाई सेवा दिन नसक्दा आर्थिक क्षति समेत व्यहोर्नुपरेको छ ।” स्थानीयका अनुसार खानेपानी वितरणमा समस्या देखिए पनि हालसम्म स्थायी समाधान हुन सकेको छैन । समस्या लम्बिँदै जाँदा सेवाग्राहीहरूमा असन्तुष्टि बढ्दै गएको छ । खानेपानी जस्तो अत्यावश्यक सेवामा बारम्बार समस्या दोहोरिनु दुःखद भएको भन्दै स्थानीयवासी तथा व्यवसायीहरूले सम्बन्धित निकायसँग तत्काल मर्मत तथा वैकल्पिक वितरण व्यवस्थाको माग गरेका छन् । उनीहरूले दीर्घकालीन समाधानसहित नियमित र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन आग्रह गरेका छन् ।

यता शुभाघाट शहरी खानेपानीले भने बत्तीको भोल्टेजको कारणले पानि जम्मा गरि वितरण गर्न नाकिएको र जेनेरेटरले पनि पानीको मागलाई धान्न नसक्दा पानीको अभाव भएको बताएको छ।।































