१४ चैत, सुर्खेत–
सुर्खेतको भेरीगंगा नगरपालिका–२ कालपानीस्थित भित्री सडकखण्डमा टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएको छ। बुधबार राति करिब ८ बजेको समयमा कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०६४७ नम्बरको टिप्परले ठक्कर दिँदा पैदलयात्री २३ वर्षीय कमल वलीको मृत्यु भएको हो।

मृतक वली भेरीगंगा नगरपालिका–२ कालपानी निवासी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका वलीलाई उनका बुवा दल बहादुर वलीले उपचारका लागि राति ९ः३० बजे प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पुर्याएका थिए। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेलका अनुसार घटनापछि प्रहरीले टिप्पर चालक वीरेन्द्रनगर नगरपालिका–१० निवासी ५२ वर्षीय मान बहादुर चौधरीलाई नियन्त्रणमा लिएको छ। मृतकको शव हाल प्रदेश अस्पतालको शव गृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































