२४ वैशाख,सल्यान–
सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर २ मा पालिकासँग नागरिक संवाद कार्यक्रम तथा आगामी आर्थिक वर्ष २०८३/८४ को योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर २ मा वैशाख २२ गते नागरिक संवाद तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको हो।
वडा नं २ मा भएको नागरिक संवाद तथा योजना तर्जुमा कार्यक्रममा आर्थिक समृद्धिको लागि सामुदायिक वनलाई मेरुदण्ड बनाउनुपर्ने, चालु अवस्थामा रहेका खानेपानी ट्याङ्कीको घेराबार तथा तारजाली, ट्याङ्की मर्मत तथा सिँचाइ कुलो, शिक्षक सरुवा वा व्यवस्थापन गर्दा विवेषसँग समन्वय गर्नुपर्ने,विद्यालयमा तारजाली तथा खानेपानीको व्यवस्था, अधुरो फिल्ड निर्माण रङ्ग रोगन तथा घेरबार, पोल गाड्दा श्रम गरेको पारिश्रमिक नपाएको, वर्षमा कम्तिमा दुईपटक बाटो सोरसार गर्नुपर्ने, घाँसको बिउ वितरण हुने तर नउम्रिने समस्या औषधिको अभाव, वडालाई कृषिमा आत्मनिर्भर बनाउनुपर्ने तथा तरकारी र फलफुलको बजारीकरणको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा सहभागीले जिज्ञासा सुझाव एवं प्रश्न राखेका थिए।
नागरिक संवाद कार्यक्रममा गाउँपालिका अध्यक्ष दानबहादुर खत्री, उपाध्यक्ष सनशीलता ओली डिसी, वडा अध्यक्ष इन्द्र बहादु वली तथा वडा सदस्य लगायतले छलफल गर्नुभएको थियो। कार्यक्रममा सहभागी पालिका अध्यक्ष उपाध्यक्ष एवं वडा अध्यक्षले सहभागी एवं उपस्थित हरूको सुझाव एवं जिज्ञासा अनुसार प्राथमिकताको आधारमा आगामी आर्थिक वर्षको बजेटमा योजनाहरू समावेश गर्ने बताउनुभएको थियो। वडा नम्बर २ का वडा अध्यक्ष इन्द्र बहादुर वलीको अध्यक्षता, गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीको प्रमुख आथीत्यता एवं पालिका उपाध्यक्ष सनशीलता ओली डिसी र वडा सदस्यहरुको आथित्यतामा पालिकासँग नागरिक संवाद एवं आर्थिक वर्ष २०८३/८४ को योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवं शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सामुदायिक वन, कृषि समूह सहकारी संस्था सिँचाइ कुलो लगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
































