२६ वैशाख, सुर्खेत-
गुर्भाकोट नगरपालिका वडा नं. ३ स्थित शहरी स्वास्थ्य केन्द्र बाइकाँडामा पहिलोपटक गर्भवती महिलाहरूका लागि एकदिने ग्रामीण भिडियो एक्सरे (अल्ट्रासाउन्ड) शिविर सञ्चालन गरिएको छ। गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको शिविर मातृ तथा नवजात शिशुको स्वास्थ्य सुदृढीकरण तथा सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले आयोजना गरिएको हो।

शिविरमार्फत ९ जना गर्भवती महिलाहरूले भिडियो एक्सरे सेवा प्राप्त गरेका छन्। भिडियो एक्सरे सेवाबाट गर्भको अवस्था, भ्रूणको विकास तथा सम्भावित स्वास्थ्य जोखिमको समयमै पहिचान गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाले जनाएको छ। साथै, आवश्यक परामर्श र उपचार व्यवस्थापनमा समेत यस सेवाले सहजता ल्याउने विश्वास गरिएको छ।
नगरपालिकाले विगतदेखि नै ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा भिडियो एक्सरे सेवा विस्तार गर्ने नीति अघि बढाउँदै आएको जनाएको छ। यस अभियानले दुर्गम तथा ग्रामीण भेगका महिलाहरूलाई सहज र गुणस्तरीय मातृ तथा शिशु स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
































