२५ वैशाख, सुर्खेत–
गुर्भाकोट नगरपालिकामा बालबालिकाको पोषण अवस्था सुधार तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले अत्याधुनिक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। Care Nepal र iDE को प्राविधिक तथा आर्थिक सहयोग तथा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित पोषण परियोजना अन्तर्गत आयोजित विशेष कार्यक्रममा गुर्भाकोट नगरपालिकालाई High Precision Seca Scale हस्तान्तरण गरिएको हो।
परियोजनामा कार्यरत सरिता शाहीको उपस्थितिमा नगरपालिकाका स्वास्थ्य संस्थाहरूमा OTC सेन्टर स्थापना, पोषण लेखाजोखा तथा बालबालिकाको वृद्धि अनुगमन (Growth Monitoring) कार्यलाई प्रभावकारी बनाउन आवश्यक ८ थान Seca Scale सहयोग स्वरूप प्रदान गरिएको जनाएको छ। उक्त सामग्री नगरप्रमुख हस्त पुन र स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्तीले संयुक्त रूपमा बुझ्नुभएको थियो।
हस्तान्तरण कार्यक्रममा नगरप्रमुख हस्त पुनले प्राप्त सामग्रीहरूको सही र प्रभावकारी उपयोगमार्फत नगरभित्र कुपोषण न्यूनीकरण तथा बालस्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले बालबालिकाको नियमित वृद्धि अनुगमन र पोषण अवस्थाको सही मूल्यांकनका लागि यस्ता उपकरण अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो।
स्वास्थ्य शाखा प्रमुख घर्तीले आधुनिक उपकरणको प्रयोगले स्वास्थ्य संस्थामा सेवा प्रवाह थप व्यवस्थित, विश्वसनीय र गुणस्तरीय बन्ने बताउनुभयो। उहाँका अनुसार विशेषगरी बालबालिकाको तौल मापन, पोषण अवस्था पहिचान तथा जोखिमयुक्त बालबालिकाको समयमै व्यवस्थापनमा यसले सहजता ल्याउनेछ।
गुर्भाकोट नगरपालिकाले स्वास्थ्य तथा पोषण क्षेत्रमा निरन्तर सहयोग पुर्याउँदै आएका Care Nepal, iDE र सुन्दर नेपाल संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यलाई थप विस्तार गरिने जनाएको छ।
































