२३ वैशाख, सुर्खेत —
भेरीगंगा नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। नगर कार्यपालिकाको कार्यालय, सुर्खेतले एक सूचना जारी गर्दै तोकिएको समयभित्र अतिक्रमण हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको हो।
सूचनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन तथा नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार नगरपालिका क्षेत्रभित्रका सार्वजनिक तथा सरकारी जग्गामा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू हटाउन भनिएको उल्लेख छ।
नगरपालिकाका अनुसार सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अतिक्रमित संरचना आफैं हटाउनुपर्नेछ। यदि तोकिएको समयसीमाभित्र अतिक्रमण नहटाएमा प्रचलित कानुनअनुसार नगरपालिका आफैंले हटाउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी दिइएको छ।
नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो कदम चालिएको जनाएको छ। साथै, सबै सरोकारवालालाई समयमै अतिक्रमण हटाई सहयोग गर्न आग्रह गरिएको छ।
































