
१९ माघ,सुर्खेत –
सुर्खेतको सिम्ता गाउँपालिकामा माघ १७ गतेदेखि सुरु भएको एकीकृत जनरल स्वास्थ्य सेवा तथा मोतिविन्दु शल्यक्रिया शिविर आज सकिएको छ। शिविर सिम्ता बहुमुखी क्याम्पस परिसरमा सञ्चालन भएको थियो। शिविरलाई प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सुर्खेतले उपलब्ध गराएको छ। यसअघि माघ १० गतेदेखि १५ गतेसम्म गाउँपालिकाका सम्पूर्ण वडा कार्यालयहरूमा मोतिविन्दु पहिचानका लागि स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको थियो।
वडास्तरमा सञ्चालन गरिएको स्क्रिनिङ कार्यक्रममा ५२७ पुरुष र ६८६ महिला गरी जम्मा १,२१३ जनाको आँखा जाँच (स्क्रिनिङ) गरिएको थियो। तीमध्ये ७५ पुरुष र ८२ महिला गरी कुल १५७ जना मोतिविन्दु शल्यक्रियाका लागि सिफारिस भएका थिए। यस्तै छुटेकाहरुको लागि सिम्ता बहुमुखी क्याम्पस ( स्क्रिनिङ् स्थल) मा ३१९ जनाले सेवा लिएका थिए।

स्वास्थ्य शाखा प्रमुख बीरेन्द्र पुनका अनुसार वडा सहित १८ स्थान र क्याम्पसमा भएको स्क्रिनिगमा भएको शिविरमा एक हजार ५ सय ३२ जनाले सेवा लिएका थिए। सेवा लिएका मध्ये एक सय ९५ जना आँखाको अप्रेशनको लागि सिफारिस भएका थिए। जसमा १५७ जना वडा सहित १८ स्थान बाट छनोट भएका थिए भने ३८ जना सिम्ता बहुमुखी क्याम्पस ( स्क्रिनिङ् स्थल) बाट छनोट भएका थिए। सिफारिस भएका मध्ये एक सय १६ जनाको मोतिविन्दु सल्यक्रिया भएको शाखा प्रमुख वीरेन्द्र पुनले जानकारी दिनुभयो। उहाँका अनुसार ६१ जना पुरुष र ५५ जना महिलाको अप्रेशन सफल भएको हो भने ७९ जनाको विविध कारण ( सुगर-प्रेसर) ले अप्रेशन हुन नसकेको हो। समग्रमा ६० प्रतिशतले सेवा लिएको बताइएको छ।

यता शाखा प्रमुख बीरेन्द्र पुनका अनुसार एकीकृत जनरल स्वास्थ्य शिविरमा पाँच सय ९० जना महिला र चार सय पाँच जना गरि नौं सय ९५ जनाले सेवा लिएका छन्। यस्तै ९५ जनाको सुगर जाँच गरिएको छ भने महिलाहरको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचान तथा रोकथाम (VIA) को लागि गरिएको शिविरमा ७५ जनाले सेवा लिएका छन्। यो शिविरले ग्रामीण भेगका नागरिकलाई सहज र निःशुल्क आँखाको उपचार सेवा उपलब्ध गराउँदै दृष्टि समस्याबाट पीडित बिरामीहरूलाई ठूलो राहत पुगेको अपेक्षा गरिएको छ।




























