
२२ जेठ, सुर्खेत-
गुर्भाकोट नगरपालिकाको समन्वय तथा प्रदेश आयुर्वेद अस्पताल एवं अनुसन्धान केन्द्र सुर्खेतको आयोजनामा निःशुल्क पाइल्स, फिस्टुला तथा मलद्वार सम्बन्धी रोगहरूको स्क्रिनिङ कार्यक्रम सञ्चालन हुने भएको छ। नगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार शिविरमार्फत पाइल्स, फिस्टुला तथा मलद्वारसँग सम्बन्धित विभिन्न रोगहरूको निःशुल्क परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक सुझाव प्रदान गरिनेछ।


नागरिकहरूलाई समयमै रोग पहिचान गरी उपचार सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ। शिविर जेठ २३ गते शनिबार बिहान १० बजेदेखि गुर्भाकोट नगरपालिका–८ खरेनीस्थित सिटीहलमा सञ्चालन हुनेछ। सम्बन्धित समस्या भएका तथा स्वास्थ्य परीक्षण गराउन इच्छुक सबै नागरिकलाई शिविरमा सहभागी भई सेवा लिन नगरपालिकाले आग्रह गरेको छ।

विशेषज्ञ स्वास्थ्यकर्मीहरूको उपस्थितिमा सञ्चालन हुने शिविरले पाइल्स, फिस्टुला लगायत मलद्वारसम्बन्धी रोगको प्रारम्भिक पहिचान, रोगबारे आवश्यक जानकारी तथा उपचार प्रक्रियाका विषयमा परामर्श प्रदान गर्नेछ। यस्ता रोगहरूबारे जनचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक अवस्थामै रोग पहिचान गरी जटिलता न्यूनीकरण गर्न कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। गुर्भाकोट नगरपालिकाले नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै विभिन्न निःशुल्क स्वास्थ्य शिविर तथा जनस्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ।































