१७ जेठ, सुर्खेत-
गुर्भाकोट नगरपालिकामा भौगर्भिक अध्ययन प्रतिवेदन प्रस्तुत तथा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना (डीपीआरपी) २०८३ स्वीकृति कार्यक्रम सम्पन्न भएको छ। प्रारम्भ परियोजना अन्तर्गत Welthungerhilfe को आर्थिक सहयोग, ली-बर्डको समन्वय तथा गुर्भाकोट नगरपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

नगर प्रमुख हस्त पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) तथा ली-बर्डका प्रतिनिधिसहित ४३ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन दीपक शर्माले गर्नुभएको थियो। कार्यक्रममा भूगर्भविद् डा. अशोक सिग्देलले गुर्भाकोट नगरपालिकाभित्रका ९ स्थानमा गरिएको भौगर्भिक अध्ययनको प्रतिवेदन प्रस्तुत गर्नुभयो। अध्ययनमा काल्चे, खोलाढाब, लेकमालारानी, काउले, हिले, लेककुरीले, पोखरीपाटा, तिल्केनी/सिन्दुरेखोला तथा हिलेनी क्षेत्र समेटिएका थिए।

प्रतिवेदनअनुसार पोखरीपाटा, काउले र हिलेनी क्षेत्रलाई कक्षा–१ अन्तर्गत उच्च जोखिमयुक्त तथा स्थानान्तरण आवश्यक पर्ने क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ। काल्चे, खोलाढाब, हिले, लेककुरीले र तिल्केनी/सिन्दुरेखोलालाई कक्षा–२ अन्तर्गत मध्यम जोखिमयुक्त क्षेत्र मानिएको छ, जहाँ जैविक इन्जिनियरिङ तथा प्रकृतिमा आधारित समाधान आवश्यक देखिएको छ। लेकमालारानी क्षेत्र भने कक्षा–३ अन्तर्गत सुरक्षित क्षेत्रका रूपमा उल्लेख गरिएको छ। अध्ययनले गुर्भाकोट नगरपालिका चुरे तथा मध्यपहाडी भू-भागमा पर्ने भएकाले यहाँको भौगोलिक संरचनाका कारण पहिरोको जोखिम उच्च रहेको निष्कर्ष निकालेको छ।

कार्यक्रममा NDRRMA का भूगर्भविद् प्रकाश पोखरेलले जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना र स्रोत परिचालनमा प्राधिकरणले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसपछि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८३ सम्बन्धी दस्तावेजमाथि छलफल तथा सुझाव सङ्कलन गरिएको थियो। सहभागीहरूले दिएका सुझावहरू समेटेर योजना परिमार्जन तथा स्वीकृत गरिएको जनाइएको छ।

समापन समारोहमा नगर प्रमुख हस्त पुनले अध्ययन गरिएका ९ मध्ये ८ क्षेत्र कुनै न कुनै रूपमा जोखिममा रहेको उल्लेख गर्दै बाँकी क्षेत्रहरूको अध्ययनसमेत निरन्तर जारी रहेको जानकारी दिनुभयो। उहाँले जोखिमयुक्त क्षेत्रमा अनियन्त्रित विकास निर्माण, सडक विस्तार तथा वातावरणीय प्रभावका कारण विपद्को सम्भावना बढ्दै गएको भन्दै सबै सरोकारवालाबीच समन्वय र जिम्मेवार भूमिका आवश्यक रहेको बताउनुभयो। नगर प्रमुख पुनले समुदायस्तरमा विपद् सम्बन्धी ज्ञान, पूर्वतयारी र सचेतना अभिवृद्धि गर्न सके मात्र जनधनको क्षति न्यूनीकरण गर्दै सुरक्षित समाज निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
































