१४ माघ,सल्यान-
वनगाड कुपिण्डे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आधारभूत तहका शिक्षकहरूका लागि ReAL Plan (सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना) कार्यान्वयन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नगर प्रमुख कर्ण बहादुर बुढाथोकी ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। नगरपालिका भित्रका ५४ वटा विद्यालयका विषयगत शिक्षकहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रम चरणबद्ध रूपमा सञ्चालन गरिएको थियो। पहिलो दिन वडा नं. १ देखि ६ सम्मका विद्यालयका शिक्षकहरू र दोस्रो दिन वडा नं. ७ देखि १२ सम्मका विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो।

अभिमुखीकरणमा कोभिड–१९ का कारण विद्यार्थीहरूको सिकाइमा परेको क्षतिलाई मुख्य विषय बनाउँदै निदानात्मक उपकरणमार्फत सिकाइ स्तर पहिचान गर्ने र सोही आधारमा सिकाइ आपूरण तथा द्रुत सिकाइ रणनीति अपनाउने विषयमा जानकारी दिइएको थियो। यसले कक्षाकोठामा पछाडि परेका विद्यार्थीलाई छिटो सिकाइ उपलब्ध गराउन सहयोग पुग्ने विश्वास लिइएको छ। कार्यक्रमको सहजिकरण शिक्षा, युवा तथा खेलकुद शाखाका प्रतिनिधि तथा Room to Read को सहयोगमा गरिएको थियो। शिक्षकहरूलाई प्रभावकारी कक्षा अभ्यास, सिकाइ अन्तर घटाउने योजना निर्माण र व्यवहारिक कार्यान्वयनमा सक्षम बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
































