
१४ माघ, सुर्खेत-
गुर्भाकोट नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका प्रमुख श्रीराम ठाकुरको सभाध्यक्षता तथा गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनको प्रमुख आतिथ्यता रहेको थियो। अन्तरक्रिया कार्यक्रममा वडाध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, साथै पालिकामा कार्यरत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमबारे जानकारी दिँदै अख्तियार कार्यालय सुर्खेतका उपसचिव बुद्धि बहादुर खत्रीले भ्रष्टाचार न्यूनीकरणमा नागरिक सचेतना र संस्थागत पारदर्शिताको आवश्यकता औँल्याउनु भएको थियो।

कार्यक्रममा भ्रष्टाचारको प्रकृति, कानुनी सजाय, आयोगको कार्यक्षेत्र, हालसम्म भएका प्रगति, कारबाही समयावधि, सम्पत्ति शुद्धीकरण कसुर तथा त्यसका सूचकहरू, उजुरी प्रणाली, उजुरी परीक्षण तथा वर्गीकरण प्रक्रिया, छानबिन र अनुसन्धान विधि, स्थानीय तहसँग सम्बन्धित उजुरीका प्रकृति, आयोगका अपेक्षा तथा बारम्बार सोधिने प्रश्नहरूबारे विस्तृत जानकारी गराइएको थियो। अख्तियार कार्यालय प्रमुख ठाकुरका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १४३ वटा उजुरी फर्छ्यौट गरिएको छ। त्यस्तै, प्राप्त भएका ३७ हजार उजुरीमध्ये १२७ वटा मात्रै मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो। यसले प्रमाणसहित उजुरी दर्ताको महत्त्वलाई समेत स्पष्ट पारेको उहाँको भनाइ थियो।

कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख हस्त पुनले स्थानीय सरकारको सुशासन प्रबर्धन गर्न यस प्रकारको अन्तरक्रिया कार्यक्रमले सहयोग पुग्ने बनाउदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु राष्ट्रप्रति जिम्मेवार भई नैतिक दायित्व वहन गर्दै सदैव सुशासन, पारदर्शीका साथै नियमको परिधिमा रही काम गर्नु पर्ने बताउनु भयो । भ्रष्टाचारले मानिसको इज्जत तबाह हुने र राष्ट्रको लगानी दुरुपयोग हुने भएकोले सजग हुनुपर्ने बताउनु भयो । भ्रष्टाचार राेक्न सबै नागरिक समाज लाग्नुपर्नेमा समेत नगर प्रमुख पुनले आग्रह गर्नुभएको थियो ।


कार्यक्रमका क्रममा सहभागीहरूले विकास निर्माण, शिक्षा, स्वास्थ्य सेवा लगायतका विषयमा जिज्ञासा राखेका थिए।विशेषगरी मेहेलकुना अस्पतालको भवन निर्माण अलपत्र /जोछेखोलाको भवन निर्माण अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्न सकिने वा नसकिने विषयमा प्रश्न उठाइएको थियो। उठेका सम्पूर्ण प्रश्नहरूको जवाफ कार्यालय प्रमुख ठाकुरले द्दिनु भएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष ठाकुरले सुशासन कायम गर्न नागरिक, स्थानीय तह र निगरानी निकायबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।































