१२ माघ, सुर्खेत-
गुर्भाकोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले चार वटा बैंकसँग औपचारिक सम्झौता गरेको छ। नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख हस्त पुन र राष्ट्रिय वाणिज्य बैंक, सांग्रिला बैंक, कुमारी बैंक तथा ग्लोबल बैंक बीच सम्झौता सम्पन्न भएको हो। सम्झौतापछि अब नगरपालिकाका लाभग्राहीहरूले वडागत रूपमा तोकिएका बैंकमार्फत सिधै आफ्नै खातामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन्।
वडाअनुसार बैंक सेवा यसप्रकार
वडा नं. १२, ६ र ११ → राष्ट्रिय वाणिज्य बैंक मेहेलकुना
वडा नं. ४, ९ र ३ → सांग्रिला बैंक (बोटेचौर)
वडा नं. १, २, १० र ८ → कुमारी बैंक मेहेलकुना
वडा नं. १३, १४, ५ र ७ → ग्लोबल बैंक मेहेलकुना

सम्झौताका मुख्य व्यवस्था:
नगरपालिकाले लाभग्राहीको विवरण विद्युतीय प्रणालीमार्फत बैंकलाई उपलब्ध गराउनेछ भने बैंकले शून्य मौज्दातमा बचत खाता खोल्नेछ। त्यसपछि सामाजिक सुरक्षा भत्ता रकम Electronic Fund Transfer (EFT) मार्फत सिधै लाभग्राहीको खातामा जम्मा हुनेछ। लाभग्राहीहरूले अब साधारण बचतकर्ता सरह सुविधा पाउनेछन्, जसमा ATM, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, SMS अलर्ट, चेक तथा ABBS सेवा समावेश छन्। दुर्गम क्षेत्रका नागरिकका लागि शाखा रहित बैंकिङ सेवा र घुम्ती शिविर सञ्चालन गरिनेछ। साथै, ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, “क” वर्गका पूर्ण अपांगता भएका तथा अति अशक्त लाभग्राहीलाई घरदैलो नजिकबाटै भत्ता वितरण गर्ने व्यवस्था मिलाइनेछ।

लगत कट्टा र फिर्ता रकम सम्बन्धी प्रावधान:
अयोग्य लाभग्राहीको नाम सामाजिक सुरक्षा प्रणालीबाट हटाई बैंकलाई जानकारी गराइनेछ। फिर्ता हुने रकम सोही आर्थिक वर्षको भए संघीय संचित कोषमा, अघिल्लो आर्थिक वर्षको भए बेरुजु खातामा RMIS प्रणालीमार्फत जम्मा गर्नुपर्नेछ। नगरपालिकाका अनुसार यो सम्झौताले सामाजिक सुरक्षा भत्ता वितरणलाई झन्झटमुक्त, सुरक्षित र विश्वसनीय बनाउनेछ। लाभग्राहीलाई सहज र प्रभावकारी सेवा दिन स्थानीय तह र बैंकबीच सहकार्य अझ मजबुत बनाइने विश्वास व्यक्त गरिएको छ।































