१२ माघ,सुर्खेत-
रत्न राजमार्ग अन्तर्गत सुब्बाकुना–छिन्चु सडक खण्डको वीरेन्द्रनगर–११ भाङ्घारीमा ईभी गाडी र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०६२३ नम्बरको ईभी गाडी र विपरीत दिशाबाट आइरहेको भे ६ प ३३२१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका वीरेन्द्रनगर–९ लाटिकोइलीका ४३ वर्षीय पदमबहादुर बि.सी. को उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। दुर्घटनापछि ईभी गाडी चालक फरार रहेका छन्। फरार चालकको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ।































