९ चैत, सुर्खेत-
सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ पण्डितकाल्नाका दीपक दमाईको स्वास्थ्य अवस्थाबारे केही दिनअघि सार्वजनिक भएको एक टिकटक भिडियोले अहिले व्यापक ध्यान तानेको छ। शिक्षक दीपक बराल पुन र खडक चन्दनले सहयोगको अपिलसहित सार्वजनिक गरेको उक्त भिडियोपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका थिए।
सामाजिक चासो बढेसँगै गुर्भाकोट नगरपालिकाले पनि चासो देखाएको छ। नगरप्रमुख हस्त पुन र स्वास्थ्य शाखा प्रमुख पूर्ण घर्तीको निर्देशनमा स्वास्थ्यकर्मी शेरबहादुर खत्री विद्यालयमै पुगेर दीपकको वास्तविक अवस्था बुझ्ने प्रयास गर्नु भएको थियो। त्यसपछि थप परीक्षणका लागि मेहेलकुना आँखा अस्पतालमा जाँच गराउँदा दीपकलाई थप उपचार आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्। सोही अनुसार उनलाई भोलि सुर्खेत आँखा अस्पतालमा थप उपचारका लागि लगिने तयारी गरिएको स्वास्थ्यकर्मी खत्रीले बताउनु भयो।

दीपक मात्र होइन, उनकी बहिनी रोशनी दमाई पनि जन्मजात रूपमा दुवै आँखाको दृष्टि कमजोर भएकी छन्। सानै उमेरदेखि दृष्टि समस्यासँग संघर्ष गर्दै आएका यी दाजु–बहिनी आर्थिक अभावका कारण अहिलेसम्म उचित उपचारबाट वञ्चित रहँदै आएका छन्। यसैबीच, गुर्भाकोट नगरपालिकाले उनीहरूको उपचारमा सहयोग गर्ने निर्णय गरेको छ। नगरप्रमुख हस्त पुनले तत्काल उपचारका लागि रु. १८ हजार आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ भने आगामी उपचार सहज बनाउन रु. १ लाख बराबरको स्वास्थ्य बीमा पनि व्यवस्था गरिएको जनाइएको छ। स्थानीय सरकारको यस पहलसँगै अब दाजु–बहिनीको उपचारमा केही सहजता आउने अपेक्षा गरिएको छ।

























