
१४ फागुन, सुर्खेत–
चीनको वुहान प्रान्तबाट सुरु भएको प्राणघातक कोरोना भाइरस (कोभिड–१९) संक्रमण नेपालमा पहिलो पटक वि.सं. २०७६ माघ १० गते देखापरेसँगै भेरिगंगा नगरपालिकाले पनि तत्कालीन अवस्थामा आवश्यक तयारी गरेको थियो। नगरपालिकामा प्रवेश गर्ने सम्भावित संक्रमितहरूको परीक्षण तथा व्यवस्थापनका लागि भेरिगंगा नगरपालिका वडा नं. ११ स्थित राताचौरको बहुउद्देश्यीय भवनमा क्वारेन्टाइन सञ्चालन गरिएको थियो।

उक्त क्वारेन्टाइन प्रयोजनका लागि प्रयोग गरिएका Examination Bed, Mattress, IV Stand, Foot Step, Trolley, Bed Side Locker, Screen, Table लगायतका स्वास्थ्य सामग्रीहरू हाल वर्षौंदेखि प्रयोगविहीन अवस्थामा थन्किएर बसेका छन्। यस अवस्थालाई मध्यनजर गर्दै भेरीगंगा नगरपालिकाले ती सामग्रीहरूको भौतिक गणना तथा चालु अवस्थाको मूल्याङ्कन गर्दै अनुगमन तथा निरीक्षण गरेको छ।

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत मान बहादुर ठाडा ले अब ती स्वास्थ्य सामग्रीहरू आवश्यकता भएका आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी तथा विद्यालय नर्स स्वास्थ्य सेवा अन्तर्गत प्राथमिक उपचारका क्षेत्रमा उपलब्ध गराइने जानकारी दिनुभयो। यस कदमले स्थानीय तहमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी, व्यवस्थित र पहुँचयोग्य बनाउने विश्वास लिइएको छ।

त्यसैगरी, भेरिगंगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष जय बहादुर नेपाली, वडा सदस्यहरू तथा वडा सचिवसँग वडाका विद्यमान समस्या, समाधानका उपाय तथा आगामी योजनाबारे अतिरिक्त पृष्ठपोषणसहित विस्तृत छलफलसमेत सम्पन्न गरिएको थियो। स्थानगरपालिकाले उपलब्ध स्रोत–साधनको सदुपयोग गर्दै स्वास्थ्य सेवालाई दिगो र प्रभावकारी बनाउने दिशामा अघि बढाएको यो कदमलाई स्थानीयस्तरमा सकारात्मक रूपमा हेरिएको छ।


























