३ माघ ,सुर्खेत-
भेरीगंगा नगरपालिकाले कुपोषण न्यूनीकरणका लागि प्रभावकारी पहललाई निरन्तरता दिएको छ। नगरपालिकाको आयोजना तथा सुन्दर नेपाल संस्थाको आर्थिक सहयोगमा सञ्चालित बृहत् पोषण लेखाजोखा अभियान अन्तर्गत पहिचान गरिएका कुपोषित बालबालिकालाई लक्षित गरी पोषण कोसेली वितरण गरिएको छ। भेरीगंगा नगरपालिका वडा नं. ८ स्थित मैनतडा स्वास्थ्य चौकीमा सम्पन्न कार्यक्रममा अभियानबाट पहिचान गरिएका २१० बालबालिकामध्ये कडा कुपोषणमा परेका १ जना तथा मध्यम कुपोषणमा परेका ११ जना बालबालिकालाई नगर प्रमुख यज्ञ प्रसाद ढकालको प्रमुख आतिथ्यतामा पोषण कोसेली वितरण गरिएको हो।

कार्यक्रमका क्रममा बालबालिकाको पोषण अवस्था सुधारका लागि आमाहरुलाई सन्तुलित आहार, सरसफाइ, बालहेरचाह तथा नियमित स्वास्थ्य परीक्षण सम्बन्धी हल्लाहा सुझाव तथा व्यवहारिक परामर्श प्रदान गरिएको थियो। यस अवसरमा कार्यक्रममा बोल्दै नगर प्रमुख यज्ञ प्रसाद ढकालले कुपोषण न्यूनीकरणका लागि स्थानीय सरकार, स्वास्थ्य संस्था र सरोकारवाला निकायबीचको सहकार्यलाई थप सुदृढ बनाउनु पर्नेमा जोड दिनुभएको थियो।

कार्यक्रममा उप–प्रमुख धनसरा बोहोरा, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर ठाडा, स्वास्थ्य शाखा प्रमुख नेत्र देवकोटा, वडा अध्यक्ष पुसे कामी , स्वास्थ्य चौकी प्रमुख, सुन्दर नेपाल संस्थाका प्रतिनिधि चन्द बहादुर थापा, मानु सापकोटा लगायत अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नगरपालिकाले आगामी दिनमा पनि कुपोषण पहिचान, उपचार तथा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।


























