२७ फागुन, सुर्खेत-
सुर्खेतको गुर्भाकोट नगरपालिका–७ निवासी मानसिक समस्या भएका एक युवाको परिवारलाई राहतस्वरूप खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरिएको छ। गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुन, वडा अध्यक्ष वासुदेव शर्मा तथा निवर्तमान वडा अध्यक्ष विर्ख नेपाली स्वयं परिवारको घरमै पुगेर चामल, तेल लगायत दैनिक उपभोग्य सामग्री हस्तान्तरण गर्नुभएको हो।
स्थानीय एक युवा समाजसेवीका अनुसार नगरपालिकाको सहयोगबाट बिरामी युवाको औषधि उपचार सम्भव भएको छ। परिवारमा कमाउने एक मात्र सदस्य नै उपचाररत रहेको र घरमा साना बालबालिका मात्र भएकाले परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग आवश्यक परेको बताइएको छ।

समाजसेवीका अनुसार बिरामी युवाको स्वास्थ्य अवस्थामा हाल केही सुधार देखिएको छ। यद्यपि चिकित्सकको सल्लाहअनुसार अझै नियमित रूपमा औषधि सेवन गर्नुपर्ने भएकाले उपचार प्रक्रिया जारी रहेको छ। नगर प्रमुख हस्त पुनले उक्त परिवारको अवस्थाबारे नगरपालिका निरन्तर सचेत रहेको बताउँदै औषधि तथा उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

































