
२७ फागुन ,सुर्खेत-
कर्णाली प्रदेशको सुर्खेत स्थित गुर्भाकोट नगरपालिकाले स्थानीय स्वास्थ्य सेवा सुदृढीकरणका लागि मेहेलकुना अस्पताललाई एक एम्बुलेन्स हस्तान्तरण गरेको छ। नगर प्रमुख हस्त पुनले आज उक्त एम्बुलेन्स अस्पताल व्यवस्थापन समिति ( मेहेलकुना अस्पताल) लाई हस्तान्तरण गर्नु भएको हो। नगर प्रमुख पुनले दुर्गम क्षेत्रका नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एम्बुलेन्स उपलब्ध गराइएको बताउनु भएको छ। उहाँले आकस्मिक बिरामीको उद्धार, प्रसूति सेवा तथा गम्भीर बिरामीलाई छिटो अस्पताल पुर्याउन एम्बुलेन्सले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो।

उहाँका अनुसार नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आवश्यक पूर्वाधार तथा सेवासुविधा विस्तार गर्ने नीति लिएको छ। “स्थानीय नागरिकले सहज र प्रभावकारी स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो, “त्यसका लागि नगरपालिकाले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा लगानी र सहयोगलाई निरन्तरता दिनेछ।” नगर प्रमुख पुनका अनुसार, नगरपालिकामा हाल दुई वटा एम्बुलेन्स भएको र अस्पतालमा एउटा एम्बुलेन्सले काम चलाईरहेको अवस्थामा थप सहजता होस् भनेर अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो। हाल अस्पतालमा भएको एम्बुलेन्स शव वाहनको लागि प्रयोग गरिने र नगरपालिकाले हस्तान्तरण गरेको एम्बुलेन्स विरामी बोक्नको लागि प्रयोग हुने उहाँको भनाई छ।
हस्तान्तरण कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय सरोकारवाला तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष यज्ञ बहादुर बिक,मेडिकल सुपरिटेण्डेन्ट डाक्टर अजय महतो लगाएतका पदाधिकारीको उपस्थिति रहेको थियो। एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा मेहेलकुना अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञ बहादुर बिकले एम्बुलेन्स उपलब्ध गराएकोमा नगरपालिका प्रति आभार व्यक्त गर्दै यसले आकस्मिक सेवामा ठूलो राहत पुग्ने बताउनु भयो। नयाँ एम्बुलेन्स सञ्चालनमा आएपछि गुर्भाकोट नगरपालिका तथा आसपासका ग्रामीण क्षेत्रका बिरामीलाई अस्पतालसम्म छिटो र सुरक्षित रूपमा पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। स्वास्थ्य सेवा पहुँच विस्तारका लागि नगरपालिकाले चालेको यो कदमलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।
































